
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
“गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । सामाजिक बनावट, भोगाइका कारण नै पनि महिलाहरूलाई समस्या छ । यति हुँदाहुँदै पनि राज्यका सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । यो सकरात्मक पक्ष हो”, सञ्चारमन्त्री शर्माले भनिन्, “महिलाहरू तथा पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन केही सहुलियत दिनुपर्छ । पुरुषको तुलनामा महिलाहरू पछि परेकै छन्, पत्रकारितामा आउने महिलालाई पेसामा टिकाउने र नेतृत्व विकास गर्नेमा ध्यान दिऔँ । पेसामा टिकिराख्न र प्रतिस्पर्धामा आउन महिलाहरूलाई समस्या छ । यी समस्या हल गर्न ध्यान दिऔँ ।”