
हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायासँगको भिडियो सम्वादमार्फत गरिएको थियो ।
नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालीले प्रत्यक महिना १०० भन्दा बढी बिरामीहरूको चेकजाँच गर्दै आएका छन् ।
यस कार्यक्रम तेश्रो महिनासम्म आइपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्यसम्बन्धी चेकजाँच तथा निःशुल्क औषधि वितरण कार्य हुँदै आएको छ ।
यसका साथै बालबालिकाहरूको मानसिक रोगसम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ । हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षक शिक्षिकाहरूलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगीहरूको स्वास्थ्य जाँच गरी १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीहरूको पहिचान गरेर थप उपचारका लागि सिफारिस गरिएको छ ।
यस कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने विशेषज्ञ डा. अरुण कुँवर, डा. नरेन्द्र मैनाली, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालका तर्फबाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकीलगायत सम्बद्ध सबै पक्षलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।