
प्रहरीको फरार सूचीमा रहेका नेकपा एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार रायमाझीको सातदोबाटोस्थित निवासमा मंगलवार दिउँसो काठमाडौं प्रहरी परिसरको टोलीले खानतलासी गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका विभिन्न पाटाहरू हुने भएकाले खानतलासी भएको हुनसक्ने बताए । ‘अनुसन्धानका विभिन्न पाटाहरू हुन्छन् । एउटा छुट्टै टोलीले काम गरिरहेको छ,’ एसपी रिजालले भने, ‘अहिले मेरो जानकारीमा छैन । अनुसन्धानका क्रममा खानतलासी भएको हुनसक्छ ।'
नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएका रायमाझी पक्राउ पुर्जी जारी भएदेखि फरार छन् ।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म पनि उनी फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ।