
घना जंगलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि ३ हजार ३१३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित ‘मोहरेडाँडा’बाट देखिने हिमशृंखलाको यो दृश्यले पर्यटकलाई मोहनी लगाउने गरेको छ ।
दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जंगल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रंगीविरंगी गुराँसका फूलले चिटिक्क सजिएको छ ।
अभियान्ता डा. महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापकन विनपुनले बताए । ‘यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन्, प्राकृतिक सुन्दरताको छटासँगै रमाउँदा यहाँ आउने जो कोही पनि आफूलाई गौरव ठान्ने गर्छन्, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ,’ पुनले भने ।
पर्यटकको सुविधाका लागि मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । शुरूआतमा २० बेड क्षमताको लजमा अहिले पूर्वाधार थप गरेर ८० बेड पुर्याइएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको मोहरेडाँडामा फ्रान्स, जर्मनी, अमेरिका, रसिया, अष्ट्रेलिया, कोरिया लगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् । घना जंगल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकले ‘साहसिक’ पदयात्राका रूपमा लिने गर्छन् ।
पहिलो पटक मोहरेडाँडा पुगेका काठमाडौंका सुरज बज्राचार्यले प्राकृतिक भ्यू पोइन्टका रुपमा रहेको मोहरेडाँडाको सुन्दरताले आफू लोभिएको बताए । ‘घना गुराँसे जंगलको यात्रा निकै रोमाञ्चकृत हुँदो रहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एकैठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभूति भएको छ,’ उनले भने ।
यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ«े लगायतका करीब २ दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ । डाँडाबाट हिमाल र सूर्योदयको दृष्यले आफूलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आएको महेश पुनले बताए । हिमालसँगै यहाँबाट पोखरा, फेवातालसँगै म्याग्दी, पर्वत र बागलुङका समेत भूभागलाई अवलोकन गर्न सकिन्छ ।
हिमशृंखलाको अवलोकन, ग्रामीण जीवनशैली, रहनसहन र परम्परागत पशुपालन, कृषि समेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौरीपालन समेत पर्यटकको अवलोकनको रोजाइमा पर्ने गर्छ । बस्तीदेखि टाढा र घना जंगलको शीरमा रहेको मोहरेडाँडामा विद्युत्का लागि सोलार जडान गरिएको छ ।
यहाँ खानेपानीको मूल नभएकाले जंगलमा रहेका मूलबाट खच्चडमार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमताभन्दा बढी पर्यटक आउँदा मुख्यगरी खानेपानीको अभाव हुने गरेको लजका सञ्चालक पुन बताउँछन् । मोहरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरेपानी–पुनहिल हँुदै मोहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् ।
पछिल्लो समय पुनहिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरेडाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।