
आफ्ना प्रभावशाली नेता बालकृष्ण खाँण गम्भीर प्रकृतिको ठगीमा समातिएपछि कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसिरहेको छ ।
बुधवार पदाधिकारीको मात्रै बैठक बसेकोमा थप छलफल गर्नु पर्ने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । सवा २ बजेपछि शुरू भएको बैठक अहिले जारी छ ।
सभापति निवास धुम्बाराहीको अघिल्लो दिनको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्न माग गरेका थिए । यस विषयमा सभापतिले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
यद्यपि खाँणलाई निलम्बन गर्न सभापति देउवामाथि दबाब छ । तर दोस्रो दिन पनि थप सदस्यसहित बैठक बसेपछि यो विषयमा पनि कुरा उठ्ने बुझिएको छ । बैठकमा पार्टीका गठन गर्न बाँकी संरचना र भ्रातृ संगठनबारे पनि छलफल हुने बताइएको छ ।
खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा बुधबार बिहान चावहिलस्थित आफ्नो निवासबाट पक्राउ परेका हुन् ।
पार्टीको बैठकअघि सभापति देउवा पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न बालुवाटार पुगेका थिए ।