
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ ।
आइतवार अदालत पुर्याइएका खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न उनका वकिलहरूले आग्रह गरेका थिए ।
पूर्व महान्यायाधिवक्ता खम्बहादुर खातीले भरोसा लाग्ने कानून व्यवसायीको रोहबरमा छाड्न इजलाससमक्ष आग्रह गरेका थिए ।
‘कुनै कानून व्यवसायीको जमानीमा छाड्न सकिन्छ । जुन कानून व्यवसायीको भरोसा लाग्छ, उसैको जमानीमा रिहा गर्नुहोस् भनेर खाणँका वकिलले आग्रह गरे,’ एक अधिवक्ताले लोकान्तरसँग भने ।
राजाको प्रत्यक्ष शासनकालमा शाही आयोगमार्फत पक्राउ परेकालाई अदालतले वरिष्ठ अधिवक्ताको जमानीमा छाडेको नजिर खातीले इजलाससमक्ष पेश गरेका थिए ।
तर, न्यायाधीश दीपक खरेलले त्यस्तो कानून नभएको भन्दै छाड्न नमिल्ने बताए ।
‘अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई वकिलको जमानीमा छाड्ने कानून छैन । बयान कार्य पनि सकिएको छैन,’ न्यायाधीश खरेलले भने ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण वैशाख २७ गते पक्राउ परेका थिए । अदालतले उनलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतवार अनुमति दिएको छ ।
म्याद थपका लागि अदालत लैजाने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खाँणले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए ।