
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न गिरोहका सदस्यहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले यो प्रकरणमा अनुसन्धान तीव्र बनाउँदै एकपछि अर्कोगरी अभियुक्तलाई पक्राउ गरिरहेको छ ।
आइतबारमात्रै प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई राजधानीको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । फरार भएको ११ दिनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ ।
यसअघि यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत पक्राउ परिसकेका छन् । यस्तै नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् ।
००००
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको छ ।
यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा उनीहरूलाई पेस गरेको थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका ३ जना अझै फरार छन् । जसमा इन्द्रजित राईका छोरा र पूर्वगृहमन्त्री बादलका छोरासमेत छन् ।
००००
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।
००००
प्रमुख तीन दलबीच संसदीय समितिका सभापतिको भागबण्डा मिलेको छ । तीन दलको सहमतिअनुसार प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ । यस्तै राष्ट्रिय सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले पाउने भएको छ ।
००००
नेकपा एमालेले संसदीय सुनुवाइ विशेष समितिमा रहने ५ जना सांसदको नाम संसद् सचिवालयलाई उपलब्ध गराएको छ । कांग्रेससरह प्रतिनिधिसभाबाट ४ र राष्ट्रिय सभाबाट १ सदस्य पाउने सहमति भएपछि एमालेले ५ जनाको नाम बुझाएको हो ।
००००
प्रतिनिधि सभा बैठकमा सांसदहरूले भड्किलो कपडा लगाएर जान नपाउने भएका छन् । आइतवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति भएको हो । अब सांसदहरूले टी–सर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने भएका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् । नयाँ प्रतिनिधि सभाले पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेको हो । आइतवार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुरू गर्ने निर्णय गरेको हो ।
००००
बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
००००
परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बंगलादेशको राजधानी ढाकामा उनीहरूबीच आइतवार भेटवार्ता भएको हो।
००००
वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आइतवार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारतको अयोध्या पुगेका छन् । भारत भ्रमणका क्रममा रहेका पूर्वराजाले आइतबार अयोध्या पुगेर राम मन्दिरको दर्शन गरेका हुन् । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजाले आइतबार अयोध्यास्थित राम मन्दिरको दर्शन गरेको जानकारी दिए । सो क्रममा पूर्वरानी कोमल पनि साथमा थिइन् ।
००००
भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आइतबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा आगलागी भएको हो ।
००००
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको छ ।