
नेपाल महिला संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।
महिला संघले सोमवार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेसकी सांसद डा. राणालाई विभिन्न लाञ्छना लगाई प्रकरणमा उनको संलग्नता रहेको भनेर नियतवश आरोप लगाइएको भन्दै भत्र्सना गरेको छ ।
नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रद्वारा सोमवार जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरूलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा. राणा आफैंले संसद् तथा अन्य सार्वजनिक मञ्चहरूमा आफ्ना भनाइ राखिरहेको अवस्थामा उनको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु अन्याय रहेको भनिएको छ ।
उनका बारेमा आएको यस समाचारले समाजमा भ्रम सिर्जना गरिरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरूमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरू तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।’
विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।