
काठमाडौं, २० भदौ - प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ढुक्क भएर मनोनयन दर्ता गराउन उम्मेदवारहरुलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले आज आयोजना गरेको पत्रका सम्मेलनमा उनले सरकारले सुरक्षाको आवश्यक प्रबन्ध गरेकोले ढुक्क भएर मनोनयन दर्ता गराउन आग्रह गरे ।
आयोगले बुधवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सबै उम्मेदवारलाई आग्रह गरेको छ । असोज २ गते तेस्रो चरणमा प्रदेश नम्बर दुईमा चुनाव हुँदैछ ।
प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुने २ गते चुनाव हुँदैछ । निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ ।
प्रदेश नं. २ का ८ जिल्लामा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा आयोगले ४४ वटा संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।