२४ असार २०८३, बुधबार

तयार भयो लुम्बिनी केबलकार, जेठ १० देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने

तयार भयो लुम्बिनी केबलकार, जेठ १० देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने

बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने केबलकारको निर्माण पूरा गरेर प्राविधिक परीक्षणको काम चलिरहेको छ । केबलकार यही जेठ १० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने प्रालिले जनाएको छ । 

केबलकारका अध्यक्ष चन्द्र ढकालले यही जेठको ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिए । 

‘जेठ १० गतेदेखि कमर्सियल अपरेसनमा ल्याउने गरी काम गरिरहेका छौ,ं’ ढकालले भने, ‘जेठको १२ देखि १८ गतेसम्म वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र त्यही महायज्ञकै बीचमा औपचारिक उद्घाटन गरिने छ ।’ 

केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तयारी गरिएको छ । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई वसन्तपुर लैजानेगरी बुटवल उपमहानगरपालिका वडा नम्बर– ३ बमघाटमा केबलकारको आधार स्टेसन बनेको छ भने टप स्टेसन वसन्तपुरमा छ ।

null

यो केबलकार करीब साढे २ किलोमिटर लामो छ । केबलकारमा २५ वटा गोन्डुला (बाकस) रहेका छन् । एउटा गोन्डुलामा ८ जना यात्रु सवार हुन मिल्छ । यसमा प्रतिघण्टा ६०० यात्रु आवतजावत गर्न सक्ने छन् । 

यो केबलकार नियमित सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकालले बताए । 

केबलकारको टप स्टेसन वसन्तपुरमा क्यासिनोसहित १५० कोठा भएको पाँचतारे होटल, कामाक्षा देवी मन्दिर, छुट्टाछुट्टै भेज, ननभेज रेस्टुरेन्ट, बार तथा पार्कसहितका संरचना निर्माणमा करीब ५ अर्ब लगानी भएको छ । 

वसन्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रूपमा केबलकार निर्माण गरिएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्रमा मात्र नभएर त्यसको आधार स्टेसन रहेको बुटवल र आसपासको पर्यटन विकास र आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने अपेक्षा छ ।

यो केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए ।

बुटवलदेखि पाल्पाको नुवाकोटसम्म पुग्ने सिद्धार्थ केबलकार पनि निर्माणाधीन छ । यो केबलकार आउँदो दशैँसम्ममा सञ्चालनमा आउनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्