१० साउन २०८३, आइतबार

बागलुङको अग्लो बस्ती मुठाचौरमा सडक पुग्यो

जेठ ४, २०८०
बागलुङको अग्लो बस्ती मुठाचौरमा सडक पुग्यो

मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो ।

उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल ।​​

चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युतलगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् ।

छोटो समयमै पनि उनीहरूले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवा सुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिँदै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यो ठाउँ बागलुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ ।

भौगोलिक हिसाबले निकै विकटमा रहेको हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन । यस वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जोकोही यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खला र अनेकौं दृश्यले लोभिने गर्दछन् ।

प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा करिब दुई सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय चार महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । सेवासुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने छन् ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले मुठाचौरमा सडक पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । उनका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पुर्‍याइएको छ ।

‘तमानखोला भौगोलिकरुपमा विकट छ, धेरै बस्तीमा हामी निर्वाचित भएर आएपछि सडक पुर्‍याइसकेका छौं, मुठाचौर र बराहतालमा पुर्‍याउन सकेका थिएनौं, यस वर्ष प्रदेश सरकारले विनयोजन गरेको बजेटबाट सडक निर्माण गर्‍यौं’, अध्यक्ष बुढामगरले भने, ‘अब स्थानीय र बराह तालमा आउने पर्यटकलाई सहज हुनेछ, यो ठाउँ निकै मनोरम हुँदा पर्यटकीय गन्तव्य बन्नसक्छ भने उत्पादनका हिसाबले निकै सम्भावना बोकेको छ, अब यसको प्रवद्र्धन गर्नतर्फ योजना बनाएर लाग्छौं, यस वर्ष सडकले जोड्यौं, अब खानेपानी र विद्युत्को पनि व्यवस्थापन गर्छौं।’

यसअघि गाउँपालिकाले कोलचेप्पासम्म सडक पुर्‍याएको थियो । अहिले कोलचेप्पादेखि करिब एक किलोमिटर सडक निर्माण गरेर मुठाचौर हुँदै बराह ताल पुर्‍याइएको हो । यहाँका स्थानीयको मुख्य पेसा नै पशुपालन र खेतीपाती हो ।​

मुठाचौर प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युतलगायत विकासका पूर्वाधारले जोडिन नसक्दा अहिलेसम्म ओझेलमा परेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य रहेको भन्दै बजारबाट सामान पनि मान्छेले नै बोकेर ल्याउने गरेको उनको भनाइ छ ।

अब गाडी चल्न थालेपछि वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुने उनी बताउँछन् । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उनको भनाइ छ।

यहाँ विकासले छुन नसक्दा पुर्खौंदेखि स्थानीय घुम्ती बसाई गर्न बाध्य भएको उनी बताउँछन्। मुठाचौरमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । अब मुठाचौरले मुहार फेर्ने छन्त्यालको भनाइ छ।

उनी भन्छन्, ‘यस ठाउँका मान्छेलाई जस्तो दुःख अरुलाई थिएन, विकास नहुँदा लेकबेँसी गरेर बस्नुपर्ने बाध्यता थियो, अहिले बल्ल सडक आयो, सडक राम्रो भयो र गाडी चल्न थाले भने यो ठाउँ पनि राम्रो बन्नेछ, पर्यटक आउन थाल्नेछन्, गाउँलेको जनजीवनसमेत फेरिनेछ, अहिले मान्छे विकास खोज्दै बजार गएका छन्, भोलिका दिनमा उनीहरू गाउँ फर्किएर यही ठाउँमा आउनेछन्।’

स्थानीय खिमा रसाइलीले अब आफूहरूका दुःखका दिन हराउने भन्दै खुसी व्यक्त गरिन् । सबै गाउँमा मोटर गुड्दा अहिले बल्ल मुठाचौरमा मोटरबाटो आएको भन्दै अब दैनिक उपभोग्य सामान थाप्लोमा बोकेर खान नपर्ने उनी बताउँछिन् ।

अब सडक आएपछि यात्रा गर्न र सामान ढुवानी गर्न सहज हुने भए पनि खानेपानी तथा विद्युत्को समस्या उस्तै रहेको रमाइलीले बताइन् । विद्युत् नहुँदा आफूहरू वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको र पानी पोखरी तथा कुवाबाट लिएर उपभोग गरेको उनी बताउँछिन् ।

‘ठाउँ राम्रो भएर मात्रै नहुने रहेछ, विकास चाहिँदो रहेछ, विकास हुन नसक्दा यहाँ बस्ने बर्खाको समयमा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेले नै नुन, तेल र चामल बोकेर ल्याउनुपर्छ, अहिले सडक आयो अब बोक्नुपर्ने बाध्यता हट्ने छ’, रसाइलीले भनिन्, ‘सडक आयो अब, खानेपानी र बिजुली बत्ती आयो भने बाह्रै महिना यही बस्न सकिने थियो, अहिलेसम्म आकाशबाट आएको र पोखरीको पानी खाँदै आएका छौँ, सडक आएपछि अब अरु विकास पनि होला भन्ने आश लागेको छ।’

गाउँपालिकाले कटेरी गाउँ हुँदै कोलचेप्पासम्म अघिल्लो वर्ष सडक पुर्‍याएको थियो । यस वर्ष बराहतालसम्मै सडक पुग्नेछ । सडकले मुठाचौरको विकास र बराह तालको प्रवर्द्धनका लागि टेवा पुग्ने रसाइलीको भनाइ छ । सडक हुँदा पनि आन्तरिक पर्यटक मुठाचौर र बराह तालमा घुम्न आउने गरेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्