
मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीवार नेपालगञ्जमा आयोजना गरेको एक बृहत् कार्यक्रमबीच बाँकेका ७ जना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तर्क्रिया र सम्मान कार्यक्रम’मा सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिका साथै दलहरूमा जिम्मेवारी पाएका मुस्लिमलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताए ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए (नन रेसिडेन्ट नेपाली एसोसियसन) क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ बालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’बाट सम्मानित गरिएको हो ।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा उनले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेका छन् ।
सम्मानित हुने जनप्रतिनिधिहरूमा लुम्बिनी प्रदेश सभाका सदस्यहरू सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरू थिए ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना वृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक विचारधारा अलग–अलग भए पनि समुदायको उत्थान र भलाइका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताए । उनले मुस्लिमहरूको अधिकार स्थापित गराउनका लागि दलीय राजनीतिभन्दा माथि उठेर मुस्लिम जर्नालिष्ट क्लब नेपालको नेतृत्वमा अगाडि बढ्न सबैलाई सुझाव दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरूलाई अधिकारबाट वञ्चित गर्ने गरी वर्तमान राजनीतिक दलहरू लागिपरेकाले दलहरूसँग सचेत भएर अधिकारको लडाइँमा लाग्न अपिल गरे । उनले मुस्लिम पत्रकारहरूलाई समेत नेपाल पत्रकार महासंघ जस्तो साझा संस्थाले बेवास्ता गर्दै आएको कार्यको विरोध गर्दैै मुस्लिमहरूको छुट्टै कोटा निर्धारण गर्न आग्रह गरेका थिए ।
अध्यक्ष खानले मुस्लिमहरूका मुद्दाप्रति आफूहरू गम्भीर रहेको र भविष्यमा नेतृत्वदायी भूमिका लिएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरू अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरे, कार्यकारी निर्देशक बुद्धि विश्वकर्मा, जियाउल हक, याकुब अन्सारी र मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र समाधानबारे आ–आफ्ना धारणा राखेका थिए ।
मुस्लिम जर्नालिष्ट क्लबको आयोजना, एनआरएनए क्यालोफोर्निया, देउराली फाउन्डेसन र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको कार्यक्रमको सञ्चालन असलम भाटले गरेका थिए ।