
विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ)ले नेपालको संरक्षण क्षेत्रमा काम गरेको ३० वर्ष पुगेको अवसरमा आज शुक्रवार विशेष कार्यक्रम गर्दैछ ।
डब्ल्युडब्ल्युएफ नेपालमा सन् १९९३ मा स्थापना भई वनजंगल, वन्यजन्तु तथा पानी संरक्षण, जलवायु र ऊर्जा, सुशासन लगायतका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ ।
स्थापनाको ३०औं वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा डब्ल्युडब्ल्युएफका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले नेपालमा लागू भएका जनसहभागितामा आधारित वन, वातावरण र वन्यजन्तु संरक्षणका कार्य विश्वमै नमूना बनेको बताए ।
डब्ल्युडब्ल्युएफ नेपालमा प्रवेशका चरणमा राष्ट्रिय निकुञ्जमार्फत वन तथा वन्यजन्तुको संरक्षण कार्य भइरहेको अवस्थामा त्यसपछि मात्र समुदायको सहभागितामा समुदायमार्फत नै संरक्षित क्षेत्रको व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयले प्राथमिकता पाएको हो ।
डा. गुरुङले समुदायमा आधारित कञ्चनजंघा संरक्षण क्षेत्रको उदाहरण दिँदै जनतालाई हस्तान्तरण गर्ने विषयमा कोषको पहलमा नेपाल सरकारको नेतृत्वमा स्थानीय समुदायको सहभागितासहित अहिले जनताले नै राम्रोसँग व्यवस्थित गरेको सुनाए ।
‘कञ्चनजंघा संरक्षण क्षेत्र सरकारले सन् २००६ मा हस्तान्तरण गर्यो । भारत र चीनको सिमानासँग जोडिएको क्षेत्रमा यसरी जनतालाई व्यवस्थापन गर्न दिइएको संरक्षणको कार्य यस क्षेत्रको कोशेढुंगा सावित भएको छ,’ उनले भने । कञ्चनजंघा संरक्षण क्षेत्रमा हाल आमा समूहले संरक्षणको कामका साथै आयआर्जनका काम गरी लाभ लिइरहेका छन् ।
जनसहभागिता संरक्षणका कार्यबाट नै अहिले प्रकृतिमा आधारित होमस्टे, वन्यजन्तुमा आधारित पर्यटन फस्टाएका छन् । बर्दियाको वन्यजन्तुमा आधारित पर्यटन विश्वमै चर्चित छ । कोषले कतिपय क्षेत्रमा विद्युतीकरण गर्नुका साथै बायोग्यासको प्रयोग गरी स्थानीय र सरकारलाई विभिन्न लाभ लिनका लागि योगदान पुर्याएको छ । यसैगरी जनसहभागितामा आधारित अन्नपूर्ण संरक्षण क्षेत्रका कारण माथिल्लो मुस्ताङ पर्यटको गन्तव्य बनेको छ ।
डब्ल्युडब्ल्युएफ नेपालले नै सरकारसँग मिलेर नेपालमा निकुञ्जभित्र लामो दूरी हिँडडुल गर्ने बाघ, गैंडाजस्ता ठूला जनावरको संरक्षणका लागि देशभित्र र देशको सीमा बाहिरसम्म विभिन्न भौगोलिक क्षेत्रमा भूपरिधि कार्यक्रमको अवधारणागत संरचनामा योजना बनाउन तथा कार्यान्वयनमा सहयोग गरेको गुरुङले बताए । यसकै परिणाम आज भूपरिधि स्तरको संरक्षणले विश्वव्यापी रूपमा मान्यता पाएको छ ।
३ दशकअघि नेपालमा बाघ र गैंडाजस्ता वन्यजन्तुको संरक्षण गर्न कठिन रहेको र अहिलेको तुलनामा थोरै संख्या (करीब १०० संख्या) मा थिए । द्वन्द्वकालमा वन्यजन्तुको चोरी शिकार धेरै हुने गरेको थियो । त्यस्तो परिस्थितिमा नेपाल सरकार, डब्ल्युडब्ल्युएफ र सरोकारवाला निकायको सहयोग र समन्वयमा अहिलेको ऐतिहासिक सफलता प्राप्त भएको गुरुङको भनाइ छ ।
पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ छ । गैंडाको संख्या ७५२ पुगेको छ । नेपालको संरक्षणको प्रयासले हिउँ चितुवाको ठूलो संख्यामा वृद्धि भएको डा. गुरुङले बताए । वन्यजन्तु संरक्षणमा भूपरिधि र प्रजाति तहको सफलतासँगै जनसहभागिताबाट संरक्षण गर्न सकिन्छ भन्ने कुरा नेपालले विश्वमै प्रमाणित गरेको छ ।