नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच संवाद भइरहेको तस्वीर यतिखेर सामाजिक सञ्जालमा 'भाइरल' बनेको छ । शनिवार बिहान बाँस्कोटा आफैँले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरलाई लिएर विभिन्न टिका-टिप्पणी भइरहेको छ ।
दुवै खरो स्वाभावका दुई नेताको तस्वीर सार्वजनिक भएपछि चर्चा भएको हो । किनकी दुवैले एकअर्काविरुद्ध बेलाबेलामा खरो टिप्पणी पनि गर्ने गरेका छन् ।
‘संसद्मा रास्वपा सभापति रवि लामिछानेसँग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर शालिगग्राम तिवारीले एक क्लिक दिन भ्याई हालेछन्। लौ त मैले पनि पोस्ट्याई दिएँ,’ फोटो सार्वजनिक गर्दै फेसबुक/ट्वीटरमा लेखेका छन् ।
बाँसकोटाले लामिछानेसँग २० मिनेट कुरा भएको लोकान्तरलाई बताए । 'उहाँले नै गफ गरौं भन्नुभयो । २० मिनेटजति गफ गर्यौँ । तर यो कुनै वार्ता वा संवाद थिएन । संसद् बैठकका क्रममा यत्तिकै बसेर कुरा गरिएको हो’ बाँस्कोटाले लोकान्तरसँग भने, ‘भेटमा विकास र राजनीतिक उतारचढावका विषय पनि आए ।'
पछिल्लो चुनावी माहोल र त्यसपछिका विकसित घटनाक्रमबारे पनि कुरा भएको बाँस्कोटाले संकेत गरे । तपाईंहरू त एक अर्काको आलोचक पनि हो नि भन्ने प्रश्नमा बाँस्कोटाले राजनीतिमा यस्तो सामान्य विषय भएको बताए । ‘राजनीतिमा आलोचना हुन्छ, कुरा हुन्छ, संवाद पनि हुन्छ,’ बाँस्कोटाले भने, ‘यस्ता विषयलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’
तस्वीरमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले स्वाभाव मिल्ने नेताको भेट भन्दै स्वाभाविक भनेका छन् । दुवै खरो स्वभावका र पूर्व पत्रकार एउटै जिल्लाबासी भएको भन्दै मिलेर काम गर्न पनि सुझाएका छन् ।
बाँस्कोटा काभ्रे २ बाट र रवि चितवन २ बाट जितेका सांसद हुन् ।