
सन् २०१६ नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै चलनचल्तीमा रहेका ५०० र १००० दरका नोटबन्दीको घोषणा गरेका थिए । मोदीको एक घोषणासँगै चलनचल्तीका ५०० र १००० हजारका नोट बन्द भएका थिए ।
सन् २००१६ मा कालो धन अवैध बनाउन ठूला नोट बन्द गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार त्यति बेला भारतमा ७.३ लाख करोड कालो धन भएको अनुमान थियो ।
तर, नोटबन्दीपछि त्यो अनुमान फेल खायो । ९९.३ प्रतिशत नोट बैंकमा जम्मा भएका थिए । केवल १० हजार ७२० करोड नोट मात्रै बैंकमा आएका थिएनन् ।
त्यसपछि रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले दुई हजारका नोट छाप्यो । त्यसको ६ वर्षपछि रिजर्व बैंकले २००० का नोट सर्कुलेसन बन्द गर्ने घोषणा गरेको छ ।
अहिले २००० हजारका नोट तत्काल बन्द गरिएका भने होइनन् । ३० सेप्टेम्बरसम्म बैंकमा फिर्ता लिइने छ ।
किन बन्द गरिँदै छ २००० हजारका नोट ?
आरबीआईका अनुसार दुई हजारका करिब ८९ प्रतिशत नोट २०१७ भन्दा पहिले नै जारी गरिएका थिए । ती नोटहरू चार/पाँच वर्ष पुराना भइसके । ती नोटको समयसीमा सकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार २००० का नोट बन्द गरिनुको एउटा कारण यो पनि हो ।
तर, नोट बन्द गरिनुको योमात्रै कारण भने होइन । यी नोटको सर्कुलेशनमा कमी आउनु पनि अर्को कारण हो । सन् २०१८ मा ६.७३ लाख करोड भारतीय रुपैयाँका नोट बजारमा थिए । तर, २०२३ मा आइपुग्दा त्यो संख्या ३.६२ लाख करोडमा आइपुगेको छ । आम रूपमा २००० का नोटको कारोबार निकै कम भइसकेको थियो ।
सन् २०१६ मा नोटबन्दी हुँदा बजारमा नोट सर्कुलेसन कायम राख्न २०० का नोट ल्याइएको थियो । अब ती नोट छाप्नुको उद्देश्य पुरा भएको भारतीय पत्रिका अमर उजालाले लेखेको छ ।
नक्कली नोटको कारोबार बन्द गर्न पनि २००० हजारका नोट बन्द गरिएको समाचारमा उल्लेख छ । असली नोटजस्तै देखिने नक्कली नोट भारतीय अर्थ व्यवस्थाको एक समस्या हो ।
पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको छ । मानिसहरू 'क्यासलेस'कारोबार गरिरहेका छन् । यो बढिरहेको पनि छ । यसलाई अझै बढावा दिन नोटबन्दी गरिएको अनुमान छ ।