
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन नबुझाउने भएको छ ।
तयारी नपुगेकाले भोलि मात्र प्रतिवेदन बुझाउने भनेर सन्देश आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले लोकान्तरलाई जानकारी दिए ।
'तयारी नपुगेकाले आज प्रतिवेदन नआउने भयो भन्नेछ,' नेउपानेले भने ।
प्रहरीले प्रतिवेदन बुझाउन ढिलाइ भइरहँदा सरकारी वकिल कार्यालयले ८ जनाको समिति बनाएर चौबीसै घण्टा काम गर्ने तयारी गरिरहेको छ ।
समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीस घण्टा नै काम गर्ने तयारी भएको नेउपानेले बताए ।
यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतले यसअघि दिएको म्याद सकिएपछि आइतवार पुन: अदालतमा पेश गरिएको थियो ।
पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् ।
थप १७ जना समेत गरी कम्तीमा ३३ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।