काठमाडौं, २१ भदौ – काठमाडौंको बानियाँटारमा बस्दै आएकी सिन्धुपाल्चोककी विमला कार्की सोमवार थापाथलीको प्रसूतिगृहमा सुत्केरी गराउन आएकी थिइन् । आकस्मिक सेवामा भर्ना भएकी उनले सोमवार राति बच्चा जन्माइन् ।
बच्चा जन्मिएपछि उनले अस्पतालको सुत्केरी कक्षमा शय्या पाइनन् । मंगलवार उनी सुत्केरी महिला राख्ने कक्षको बाहिरपट्टिको खाली गल्लीमा अस्पतालले दिएको म्याटमा सुतिरहेकी थिइन् ।
विमलाको हेरचाहका लागि आएकी आफन्तले लोकान्तरलाई भनिन्, ‘शय्या नपाएर यस्तोमा बस्नुपरेको छ । बच्चालाई सुईहरू लगाइदिएर बरू छिट्टै घरै पठाइदिए हुन्थ्यो । यहाँ भन्दा त घरमै सुरक्षित हुन्थ्यो ।’

अस्पतालको गल्लीमा कार्की मात्र थिइनन् । उनीजस्तै अन्य सुत्केरी महिला पनि अस्पतालले दिएको म्याटमा सुतिरहेका थिए ।
मंगलवार बिहानै बच्चा जन्माएकी विमला महर्जनले पनि शय्या पाएकी छैनन् । ‘अरू के समस्या छ भन्नु र, बस्ने शय्या त पाएको छैन । ममात्र हैन यहाँ धेरैले शय्या पाएका छैनन्,’ प्रसव पीडालाई लुकाउँदै मलिन स्वरमा महर्जनले लोकान्तरलाई भनिन्, ‘समस्या त हुन्छ नि । सबै एकैठाउँमा बिजोकसँग बस्नुपरेको छ ।’
मंगलवार मात्र शिशु जन्माएका सुत्केरी महिलाहरू शय्या नपाउँदा अस्पताल परिसरको खुल्ला ठाउँमा थिए । सो ठाउँमा सुत्केरी महिलामात्र होइनन्, उनीहरूका आफन्त पनि बसिरहेका थिए ।
सुत्केरीका आफन्तहरू बस्ने ठाउँ नहुँदा सुत्केरी महिला बसेकै म्याटमा बसेका थिए । सुत्केरी बसेकै म्याटमा अन्य आफन्तहरू बसिदिँदा सुत्केरी महिलालाई झनै समस्या हुने गरेको छ । सुत्केरी महिललाई भन्दा पनि नवजात शिशुलाई असर गर्छ कि भनेर उनीहरू चिन्तित थिए ।

बाफलबाट आएकी प्रमिला धउन्या पनि मंगलवार बिहानै सुत्केरी भएकी हुन् । उनले पनि शय्या नपाएपछि अस्पताल परिसरमा शय्याविना, भुइँमा म्याट ओछ्याएर सुतिरहेकी थिइन् । उनले ओछ्याएको म्याट र तन्नामा रगतका धब्बाहरू थिए । सुत्केरी हुँदाको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो ।
अझै पीडा त शय्या नपाएर अस्पतालको चिसो सिँढीमा बस्नुपर्दाको थियो । अस्पतालले दिएको म्याटमा चित्त बुझाउँदै उनले भनिन्, ‘अरूले यही ठाउँ पनि पाएका छैनन् । धन्न ठाउँ भने पाइएको छ ।’
उनको स्याहारको लागि आएकी उनकी सानीआमाले थपिन्, ‘यस्तो चिसो सिँढीमा बस्नुपरेको छ । यस्तो खुल्ला ठाउँ छ । धेरै मान्छेको भीडभाड छ । पुरुषहरू पनि यहीँ छन् । सुत्केरी मान्छेलाई यस्तो खुल्ला हावामा राख्नुपरेको छ । छिट्टै घर लान पाए हुन्थ्यो ।’
अस्पतालमा शय्या नपाउँदा सुत्केरी भएपछि सुत्केरीका आफन्तहरू घर लैजान हतार गरिरहेका थिए । उनीहरूले अस्पतालको सुत्केरीले प्रयोग गर्ने शौचालय पनि राम्रो नभएको गुनासो गरेका थिए । कतिपय सुत्केरीहरूले भने नवजात शिशुलाई चिसो लाग्ने चिन्ता व्यक्त गर्दै थिए ।
प्रसूति गृहका निर्देशक अमिरबाबु श्रेष्ठले शय्याको अभावमा सुत्केरीलाई अस्पताल परिसरमा म्याट दिएर राख्नुपर्ने बाध्यता सृजना भएको बताए ।

‘मंगलवार मात्रै १२ जना सुत्केरीले शय्या पाएनन् । भवन अभावमा हामीले चाहेर पनि शय्या उपलब्ध गराउन सकेका छैनौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘शय्या अभाव भएपनि हामीले यहाँ आउने गर्भवतीलाई फर्काएका छैनौं । म्याटहरू उपलब्ध गराएर अस्पतालभित्रै खाली ठाउँमा राख्ने व्यवस्थासम्म गरेका छौं ।’
पछिल्लो एक महिनायता सुत्केरी गराउन आउनेहरू बढेको उनको भनाइ छ । ‘दैनिक ८० देखि ९० जनाको हाराहारीमा सुत्केरी गराइएको छ । दैनिक एकसयजना गर्ववतीहरू सुत्केरी गराउन गृहमा आउँछन्,’ उनले भने, ‘भूकम्पले भत्किएको भवन अझै निर्माण भएको छैन । भूकम्पपछि भवन नबन्दा सुत्केरी राख्ने ठाउँ नै पुगेको छैन ।’
काठमाडौं उपत्यका र बाहिरी जिल्लाका अस्पतालहरूले समेत थापाथलीको प्रसूति गृहमै पठाउने गरेकाले पनि अस्पतालमा सुत्केरी महिलाको चाप बढी हुने गरेको छ ।