२८ जेठ २०८३, बिहीबार

चीनबाट हतियार किन्न लागेको कुरा सत्य होइन, अफवाह फैलाइयो : प्रधानसेनापति शर्मा

जेठ १२, २०८०
चीनबाट हतियार किन्न लागेको कुरा सत्य होइन, अफवाह फैलाइयो : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई अहिले हतियार आवश्यक नभएको स्पष्ट पारेका छन् । सेनाले चीनबाट ६ अर्बको हतियार किन्न लागेको भन्ने समाचाहरू आएको भन्दै सेनाले कुनै हतियार किन्न नलागेको उनले स्पष्ट पारे । ‘हामीसँग पहिले देखिनै हतियार छन् । अहिले किन्नु पर्ने आवश्यकता पनि छैन,’ ​एक कार्यक्रममा सहभागी हुन पाँचखाल पुगेका शर्माले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘केही सञ्चार माध्यममा आएका समाचारहरूप्रति हाम्रो आपत्ति छ ।’

सेनापति शर्माले पछिल्लो समय ६ अर्बको हतियार किन्न सक्ने अवस्थासमेत नरहेको बताए । ‘६ अर्बको सामान किन्न सजिलो विषय होइन । अहिले त्यो क्षमता पनि छैन । सेनासँग भएको पैसा पनि सरकारले निर्णय गरेर र नीतिनियममा रहेर खरिद गर्नुपर्छ । त्यसकारण हामीले अहिले हतियार खरिद गर्ने सक्ने अवस्था छैन,’ शर्माले पत्रकारहरूसँग भने ।

यस विषयमा प्रधानमन्त्री वा रक्षामन्त्री कसैको निर्देशनसमेत नभएको उनको दाबी छ । आवश्यक परे गुणस्तरीय हतियार उत्पादन गर्ने देशबाट ल्याउने सेनापति शर्माले बताए । ‘हामी स्वतन्त्र राष्ट्र हौं । आवश्यक परेको खण्डमा विश्वका​ गुणस्तरीय हतियार उत्पादन गर्ने देशबाट नेपालको माटो सुहाउँदो हतियार ल्याउँछौं,’ प्रधानसेनापतिले भने ।

सेनाले २०४५ सालदेखि चीनबाट हतियार खरिद नगरेको उनले स्पष्ट पारे । सेनाले पछिल्लो समयमा चीनबाट आउन लागेको भनिएको हतियारभन्दा गुणस्तरयुक्त र राम्रा हतियार प्रयोग गरिरहेको सेनाको दाबी छ ।

शान्ति सेनाका लागि आवश्यक पर्ने हतियार र सामानहरू जुन देशले सस्तोमा उपलब्ध गराउँछ त्यही देशबाट गभरमेन्ट टु गभरमेन्ट (जीटूजी)मार्फत् खरिद गर्ने गरेको उनले बताए । आवश्यक पाटपुर्जाहरू पनि जुन देशमा आवश्यक भयो त्यहीबाट खरिद गर्ने गरेको उनले प्रस्ट्याए । ‘शान्ति मिसनमा भएका सामानहरू मर्मत गर्नु पर्ने अवस्थामा जुनदेशबाट सामानहरू ल्याइयो त्यहीबाट पाठपूर्जा ल्याएका छौं,’ प्रधानसेनापति शर्माले भने । 

शान्ति मिसनमा छोटो समयमा गुणस्तरीय सामान उपलब्ध गराउने देशबाट सेनाले हातहतियारलगायत आवश्यक पर्ने सामान लैजाने गरेको उनले बताए । देशभन्दा पनि आवश्यकताको आधारमा सामान खरिद गर्ने गरेको प्रधानसेनापति शर्माको भनाइ छ । 

सेनाले आफूहरूलाई आवश्यक पर्ने सामानको गुणस्तरलगायत विषयमा विश्वका जुनकुनै देशमा पनि अध्ययन र बुझ्न सक्ने उनले बताए । 

प्रधानसेनापति शर्माले विभिन्न स्वार्थ समूहले अफवाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे । ‘कुनै त्यस्ता स्वार्थ समूह वा देशहरू हुनसक्छन् । उनीहरूले आफ्नो व्यापार गर्न खोजेका हुनसक्छन् । त्यसतर्फ हामी सचेत छौं,’ प्रधानसेनापति शर्माले भने ।

पछिल्लो समय केही सञ्चार माध्यममा नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को)सँग हतियार किन्न लागेको र त्यसका लागि प्रतीपत्र (एलसी) खोलिएको समाचारहरू सार्वजनिक भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्