
टिकापुर घटनाका दोषी रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै सोमबार बिहान चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
आममाफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए । उनीहरुले रेशमलाई फूलमालाले स्वागत गरेका थिए । उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई उच्च अदालतको फैसलाअनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको सजाय सदर गरेको थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय गरेका हुन् ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका थिए ।