
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धानगरी निष्कर्षमा पुर्याउने बताएका छन् । मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले दरबार र गौर हत्याकाण्डलगायत ठूला हत्याकाण्डको अनुसन्धानगरी निचोडमा पुर्याउने बताए ।
प्रधानमन्त्री प्रचण्ड भोलि (बुधवार) चार दिने भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमणमा जानुअघि उनले दरबार हत्याकाण्डको अनुसन्धानगरी निष्कर्षमा पुर्याउने बताएका हुन् ।
२०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनीति गर्ने पनि प्रतिवद्धता जनाए । 'मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन्,' उनले भने, 'खुलाइन्छन् । २०४६ साल पछिका सबै उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरणबारे खोजीनीति गरिन्छ । ठूल्ठूला भयानक हत्याकाण्डहरूको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् या दरबार हत्याकाण्ड । जनताको मनमा धेरै शंकाहरू छन् । सत्यतथ्य आएको छैन । यी सबैकुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।'