
जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । बुधवार बिहान इटहरीमा बसेको जसपा प्रदेश कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको हो ।
केही बेरमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने जसपाले जनाएको छ ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा लिम्बू गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भए पनि कोशी प्रदेशमा राष्ट्रपतिको निर्वाचन अगाडिकै गठबन्धन कायम छ । कोशीमा एमाले ४० सहित माओवादीका १३, राप्रपाका ६ र जसपा १ सिटको समर्थनमा सरकार बनेको थियो ।
केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए प्रदेश सरकार संकट/अल्पमतमा पर्नेछ।
हाल केन्द्रीय गठबन्धनमा रहेका दलहरू कांग्रेस २९ र एकीकृत समाजवादी ४ जना र त्यसमा जसपा र माओवादी थपिए बहुमत पुग्ने अवस्था छ। तर, माओवादीका १३ मध्ये १ जना सभामुख छन् ।
यसअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गरेको थियो । दलको बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई तत्काल सरकारबाट बाहिरिन आग्रह गरेको थियो ।