
कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या भएको छ । वाणगंगा नगरपालिका–६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको चक्कु प्रहारगरी हत्या भएको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) प्रेमबहादुर बस्नेतका अनुसार बिहीवार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको बस्नेतले बताए । अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अञ्जली र मोहनको प्रेम सम्बन्ध रहेको बताइएको छ । प्रेममा विवाद हुँदा मोहनले चक्की हानेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।