
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटो खुलेको छ ।
भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिए ।
‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्ण क्षमतामा हवाई उडान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानको अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए । उनले भने, ‘भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ । अब महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौं ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हंशराज पाण्डेले बताए । यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडोयाममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।
हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १ हजार ५०० मिटर भिजिविलिटी आवश्यक पर्छ तर आईएलएस कार्यान्वयन हुँदा कम्तीमा ८०० मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विक्रम संवत् २०७९ जेठ २ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।