
काठमाडौं, २२ भदौ– राष्ट्रिय जनता पार्टी नेपालले पार्टीको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा मधेशका जनताको अधिकार प्राप्तीको लडाईलाई अझ सशक्त बनाउन आसन्न निर्वाचनमा जाने निर्णय लिइएको पनि स्पष्ट पारिएको छ ।
अधिकार प्राप्तीको लडाईलाई जनमतकै बलमा सफल बनाउन आह्वान गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरिएको नेता राजेन्द्र महतोले जानकारी दिए ।
घोषणापत्रमा ‘सबैको भाषा, सबैको भेष, सबै नेपाली, सबैको देश’ भन्ने नारा पनि तय गरिएको छ । त्यसैगरी मधेशका जनताको पक्षमा रहेका सबैले आसन्न सबै तहको निर्वाचनमा आफनो पार्टीलाई विजयी गराउने विश्वास पनि व्यक्त गरिएको छ ।
घोषणा पत्रमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मधेसमैत्री नभएको आरोप लगाइएको छ । घोषणा पत्रमा माओवादी संघीयता विरोधी भएको उल्लेख गरिएको छ । एमालेलाई मधेशप्रति अनुदार पार्टीको रुपमा चित्रण गरिएको छ ।
नेता महतोले तीन ठूला दलकै अहंकारका कारण संविधान संशोधन प्रस्ताव असफल भएको दावी पनि गरे ।
पार्टीले चुनावी घोषणा पत्रमार्फत् समग्र मधेशको विकासका लागि चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमलाई जोड दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । त्यसैगरी बाढीपीडितलाई राहत दिन ‘बाढी डुबान पीडित पुनर्निर्माण प्राधिकरण’ गठन गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ ।
मधेश आन्दोलनका सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाइएको छ । मधेश आन्दोलनका घाइतेहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने, त्यस क्रममा लगाइएका झुठा मुद्दा तत्काल फिर्ता गराउन सरकारलाई बाध्य बनाउने गरी पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने लगायतका प्रतिवद्धता पनि घोषणा पत्रमा व्यक्त गरिएको छ ।