२१ जेठ २०८३, बिहीबार
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्ड महाकालेश्वरमा १०८ रुद्राक्ष माला चढाएर पूजा गर्दै, सुरक्षा व्यवस्था कडा

जेठ १९, २०८०
प्रधानमन्त्री प्रचण्ड महाकालेश्वरमा १०८ रुद्राक्ष माला चढाएर पूजा गर्दै, सुरक्षा व्यवस्था कडा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् ।

राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोरबाट ५० किलोमिटर सडकयात्राबाट प्रचण्ड उज्जैन पुग्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको यात्रालाई मध्यनजर गरेर सडकलाई एकतर्फी मात्रै सञ्चालन गरिएको छ भने एकातर्फ बन्द गरिएको छ । प्रचण्डले पूजा गर्ने समयमा मन्दिरलाई सर्वसाधारणका लागि बन्द गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डको व्यक्तिगत इच्छाअनुसार नै उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । मन्दिरमा पूजाका क्रममा प्रचण्डले १०८ वटा रुद्राक्ष माला चढाउने बताइएको छ ।

प्रचण्डसँगै पूजाअर्चनामा छोरी गंगा दाहाल पनि सरिक हुनेछिन् । प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै महाकालेश्वर मन्दिरमा पूजा गर्ने कार्यक्रम राखेको स्रोतको दाबी छ ।

मन्दिरमा चढाउने रुद्राक्ष माला राखिएका डब्बाहरू

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले सम्पादन गरेको कामबारे उनले जानकारी लिने कार्यसूची छ ।

फोहोर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।

शनिवार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीवार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा २ देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्