काठमाडौं, २२ भदौ- कारोबारमा आएका सबै उपसूचकमा गिरावट आउँदा बिहीबार शेयर बजार ओह्रालो लागेको छ । साताको अन्तिम दिन बिहीबार ११ दशमलव ९५ अंकले घटेर नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १५५४ दशमलव ५५ अंकमा झरेको छ । बुधबार सूचक ११ दशमलव ९४ अंकले बढेर १५६६ दशमलव ५० अंकमा पुगेको थियो । बुधबार बजार खुल्दाकै अवस्थामा बिहीबार बजार बन्द भएको हो ।
मुख्य सूचकलाई पछ्याउँदै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इनेक्स २ दशमलव २० अंकले घटेर ३२६ दशमलव ०१ अंकमा ओर्लिएको छ । बुधबार यो सूचक २ दशमलव ७२ अंकले बढेर ३२८ दशमलव २१ अंकमा पुगेको थियो । बिहीबार कारोबारको सुरुवाती एक घण्टा करिब चार अंकले बढेको बजार त्यसपछी भने निरन्तर घटेर बन्द भएको हो ।
बजारमा तरलता समस्या हट्दै गएको र ब्याजदर खुकुलो बन्दै गएपनि खासै टेवा पाउन सकेन। बिहिबार १५७ कम्पनीका १२ लाख ८५ हजार कित्ता शेयर ७३ करोड ४९ लाख रुपैयाँमा खरिद बिक्रि भए । बुधबारको तुलनामा १० करोड रुपैयाँले कारोबार रकम घटेको हो ।
बिहिबार नबिल बैंकले करिब पाँच करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। बैंकको बोनस शेयर सुरक्षित गर्ने बुक क्लोज मिति नजिकिदै गर्दा लगानिकर्ताले शेयर खरिद बिक्रीमा चाप बढाएका हुन् । साताको अन्तिम कारोबार दिन बैंक ९दशमलव २४, होटल ११ दशमलव १५, विकास बैंक ५ दशमलव ५, जलबिद्युत २३ दशमलव ७४, फाइनान्स ५ दशमलव ४७, बीमा ११४ दशमलव ८६, उत्पादनमुलक २४ दशमलव १३ र अन्य ४ दशमलव ०५ अंकले घटेको छ ।
सबैभन्दा बढी सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकको शेयर करिब ६ प्रतिशतले घटेको छ ।