०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

जरिवाना मात्रै तिराएर छाडियो पार्किङ गरिएका शंकास्पद गाडी, जलनका घटनामा ३ जनाको मृत्यु

असार ३०, २०८३
काठमाडौं
जरिवाना मात्रै तिराएर छाडियो पार्किङ गरिएका शंकास्पद गाडी, जलनका घटनामा ३ जनाको मृत्यु

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

राजधानीस्थित विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थलमा सोमबार शंकास्पद रुपमा पार्किङ गरिएका गाडीलाई जरिवाना तिराएर मात्रै छाडिएको छ ।  यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग उठेपनि सोमबार राति नै  ट्राफिक प्रहरीले जरिवाना तिराएर मात्रै छाडेको हो ।

अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए ।

००००

आत्मदाह प्रयासपछि घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको मृत्यु भएको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए ।  मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो ।

उनको मृत्यु सँगै एक साताको अवधिमा जलनको घटनामा तीन जनाको मृत्यु भएको छ । राजधानीमै ४५ वर्षीय व्यापारी अश्विन राउत र पठाओ चालक गणेश नेपालीको मृत्यु भएको थियो ।

००००

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ।

००००

देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेको छ । यसबै कारण देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको हो ।

००००

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हिरासतमा राखी अनुसन्धान गर्न विशेष अदालतले पाँचौंपटक म्याद थप गरेको छ ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार विशेष अदालतले पौडेललाई थप ३ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

पौडेल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।

००००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै करिब ८ महिनाकै न्यून विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक ८ महिनायताकै न्यून विन्दु २५७०.१८ मा झरेको हो ।

यस दिन परिसूचक ३०.६० अङ्कले घटेको हो । यसअघि गत मङ्सिर ४ गते परिसूचक २५६०.२९ को विन्दुमा कायम भएको थियो । त्यसपछि सिधै २५९७.३३ को विन्दु हुँदै उकालो लागेको थियो ।

००००

जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज चाँडै कार्यान्वयनमा आउने भएको छ ।

गृहमन्त्री सुधन गुरुङले सोमबार सबै मन्त्रालयहरूलाई उक्त प्याकेज ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् । 'हामीले अहिलेसम्म जेनजी शहीद र घाइतेहरूका मुद्दामा गम्भीरतापूर्वक काम गरिरहेका थियौं। अब भने त्यो लामो गृहकार्यको परिणाम स्वरूप, सबै मन्त्रालयहरूलाई यी मागहरू ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन जारी भइसकेको छ,' उनले लेखेका छन् ।

००००

राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

००००

स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

००००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म अघि नबढेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन्।

इप्पान नेपालको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न सोमबार आयोजित कार्यक्रममा उनले वास्तविक लगानीकर्तालाई सरकारले सहयोग गर्ने तर अनुमतिपत्र लिएर आयोजना रोक्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।

salt training

कमेन्ट गर्नुहोस्