
पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ ।
धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।
नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । अनुदानमा बीउ पाएपछि किसान खुशी भएका छन् ।
बजारका एग्रोभेटमा महंगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बीउ पाउँदा राहत पुगेको छ ।
स्थानीय शारदा रेग्मी भन्छन्, ‘दोब्बर तेब्बर मूल्य तिरेर बाहिरबाट खरिद गर्नुपरेको थियो, नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ, यसबाट बीउ खरिदमा हामीलाई आर्थिक भार परेन ।’
यस वर्ष २० टन धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् । उनका अनुसार वितरित धानमध्ये साँवा मन्सुली ५ हजार ६०० किलो, रामधान १ हजार ९१ किलो र सावित्री धान १३ हजार ६४५ किलो नगरका १ हजार ४१ किसानलाई वितरण गरिएको छ ।
नगरपालिकाले वितरण गरेको धानमध्ये सावित्री प्रतिकिलो ६० तथा साँवा मन्सुली र रामधान जातको धान प्रतिकिलो ६५ रुपैयाँ मूल्य पर्छ । धान वितरणका लागि नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको थियो । बाहिर बजारका एग्रोभेटमा प्रतिकिलो ९० देखि ११० रुपैयाँसम्ममा किसानले बीउ किन्ने गरेका छन् ।
रामपुर नगरपालिकाभित्र करीब १ हजार ८०० हेक्टर धान खेती सिञ्चित जमिन छ ।