
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेधगरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ ।
मन्त्रिरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृत दिने निर्णय गरेको छ ।
मन्त्री शर्माले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत निर्णय भएको जानकारी दिइन् ।