
सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले ४० औं स्थापना दिवस र १९ औं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंमा बुधवार एक कार्यक्रमकाबीच एक्सनएड इन्टरनेशनलको ४० वर्षे यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो ।
एक्सनएड इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै एक्सनएड इन्टरनेशनल नेपालले काम शुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताइन् । समय, सन्दर्भ र परिवेश अनुसार विभिन्न अवधारणा तथा दृष्टिकोणलाई केन्द्रमा राखेर काम गर्दै आएको स्मरण गराउँदै उजले परिवर्तनशील समय र परिस्थितिअनुसार आफ्ना अवधारणा र दृष्टिकोणलाई समयानूकुल र लचिलो बनाउँदै सामाजिक न्याय र गरिबी निवारणमा प्रतिवद्ध हुनुपर्ने बताइन् ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले एक्सनएडले विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै अब शुरु गर्न लागेको जलवायु परिवर्तनलगायतका कार्यक्रमका लागि शुभकामना दिए । एक्सनएडले गर्ने कामका लागि सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता थियो ।
यस्तै, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले एक्सनएड नेपालले गरिरहेको जलवायु न्याय लगायतका अभियानहरूले दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुगिरहेको बताए । सीमित श्रोत साधनका बीच लक्षित वर्गसम्म पुग्नु चुनौती भएको उनले बताए ।
एक्सनएड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७ मा युके र केन्याबाट शुरु भएको यात्राको स्मरण गर्दै अहिले ७२ देशहरूमा पुगेकोमा यो गर्वको विषय भएको बताए । एक्सनएडले महिला र युवाहरूलाई प्राथमिकतामा राखेर समय र सन्दर्भअनुसार लचिलो भएर काम गरेर सफल उदाहरणहरू प्रस्तुत गर्न सफल भएकोमा बधाई दिँदै एक्सनएड इन्टरनेशनल नेपाललाई आगामी यात्राका लागि शुभकामना दिए ।
यस्तै, स्वतन्त्र मूल्यांकनकर्ता राजेश हमालले मानिसहरूको जीवनमा महिला अधिकार, शिक्षा, जीविकोपार्जन, विपद् व्यवस्थापन तथा उत्थानशीलतामा एक्सनएड इन्टरनेशनलले गरेका उदाहरणीय कामहरू प्रस्तुत गरे ।
यी क्षेत्रमा काम गर्दा एक्सनएड नेपालले स्थानीय तहसँग समन्वय, आर्थिक तथा सामाजिक रुपमा पछि रहेकाहरूको संगठनसँग समन्वय, प्राविधिक तथा जिन्सी सहयोग, नागरिक तथा सम्बन्धित निकायबीच समन्वय गर्ने कार्यशैली प्रभावकारी भएको उनले बताए ।
आन्दोलन, अभियान, वकालत, विभिन्न संघसंगठनको सुदृढीकरण गर्दै गरेको परिवर्तनको यसको सवल पाटो रहेको उनको भनाइ थियो । सबै क्षेत्रमा काम गर्नुभन्दा कुनै एक वा दुई क्षेत्रमा मात्रै काम गरेर नमुना रुपमा काम गरेर सरकार र अन्य सरोकारवाला संघसंगठनलाई सहयोग गर्न उनले सुझाव दिएका छन् ।
कार्यक्रममा आन्तरिक परीक्षक योजना सिंह क्षेत्रीले संस्थाको २०२२ को आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
पटेर्वा सुगौली गाउँपालिका ४ की पुतलीदेवी चौधरीले एक्सनएडको सहयेगमा महिला समूहमा आवद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्री गरेर आत्मनिर्भर बनेको बताइन् । साथै सोही आम्दानीबाट बालकालिकाको शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरेको उनको भनाइ थियो ।
तेह्रथुमको लालीगुँरास गाउँपालिकाकी डम्बरकुमारी कार्कीले एक्सनएड इन्टरनेशनल र स्थानीय दलित सचेतना केन्द्रको सहयोगमा दलित र अन्य समुदायका महिलाहरू आर्थिक रुपमा सक्षम भएको, समान कामको समान ज्यालाका लागु भएपछि सहज अनुभव भएको बताइन् ।
एक्सनएडले सामाजिक सवाललाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
एक्सनएड इन्टरनेशनल नेपाल विभिन्न ४५ वटा देशमा क्रियाशील एक्सनएड इन्टरनेशनल फेडेरेसनको सदस्य हो । एक्सनएडले आफ्नो फेडेरेसनमार्फत १ करोड ५० लाख मानिसहरूसँग प्रत्यक्ष काम गरिरहेको छ । एक्सनएडको स्थापना १९७२ भएको थियो भने नेपालमा यसको स्थापना सन् १९८२ मा भएको थियो ।
यसले गरिबी तथा बहिष्करणमा रहेका सीमान्तकृत समुदायका मानिसहरूको संगठन, आन्दोलन र अभियानसँग समन्वय तथा सहकार्य गरेर मानवअधिकार, नारीवादी दृष्टिकोणका साथ उनीहरूको न्याय स्थापना र गरिबी निवारणको लागि काम गर्दै आएको छ ।
अहिले एक्सनएड नेपाल यसै दृष्टिकोणमार्फत महिला तथा युवाहरूको आन्दोलन र अभियानलाई समर्थन र सहयोग गर्दै आएको छ ।