नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरूको गलत अडान र निर्णयले गर्दा कोशी प्रदेशमा आन्दोलन चर्किएको दाबी गरेका छन् ।
बिहीवार सामाजिक सञ्जालमामार्फत कोशी प्रदेशमा भइरहेको आन्दोलमा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जानकारी दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
कोशी प्रदेशमा जातीय, भाषिक पहिचान पक्षधर, राजनीतिक दल तथा संगठनहरू आन्दोलनरत रहेको बताउदै उनले दलहरूले छिटो आफ्नो गलत हठ त्यागेर प्रदेशको नामाकरण जातीय र भाषिक पहिचानका आधारमा गर्नुपर्ने बताएका छन् ।
‘संविधानसभाको समिति र राज्यबाट गठित राज्यको पुनर्संरचनासम्बन्धी आयोगले पहिचानका ५ आधार जातीय, भाषिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक भनेर सिफारिस गरेकोमा मधेश बाहेक कुनै पनि प्रदेश जातीय/भाषिक आधारमा नामाकरण नहुनु र पंचायतकालकै अन्चल झल्कने गरी नामाकरण गर्नु कति विडम्वनापूर्ण छ सबैको ध्यान पुगोस् ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
१ नं प्रदेशको नामाकरण किराॅत/लिम्बुवान वा लिम्बुवान/किराॅत हुनुपर्छ भन्ने नेसपाको शुरूदेखिको स्पष्ट धारणा रहिआएको छ। पुराना दलहरूको गलत अडान/निर्णयले गर्दा सो प्रदेशका जातीय/भाषिक पहिचान पक्षधर जनसमुदाय/दल/संगठन केही समयदेखि आन्दोलनरत छन्। त्यसमा हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता…
— Baburam Bhattarai (@brb1954) June 8, 2023