
जिल्ला प्रहरी परिसर ललितपुरले सडक बनाउने कामदारमाथि खुकुरी प्रहार गर्ने ९ जनालाई पक्राउ गरेको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले घटनामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका जानकारी दिए ।
प्रहरीले ललितपुरको महांकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाईबा, विनोद न्यासुर, सौरव विक, विजय वाईबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई पक्राउ गरेको छ ।
आरोपीले जेठ २२ गते ललितपुरको महांकाल गाउँपालिका–३ जप्कामा सडक बनाउने कामदार बर्दियाको मधुवन नगरपालिका–२ का सुनिल थारु, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ का सुजेन लामा र रमेश लामामाथि धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए ।
घाइतेहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकोमा उपचार भइरहेको छ । घटनामा प्रयोग गरिएको धारिलो हतियार र ३ थान मोटरसाइकलसहित घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।