२३ जेठ २०८३, शनिबार

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

जेठ २६, २०८०
म्याग्दी
समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज
प्रतिकात्मक तस्वीर

म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडामा पर्ने बगरफाँट जोड्ने बेलीब्रिज निर्माणकार्य लक्ष्यभन्दा १ महिनाअघि नै सकिएको हो । 
 
४५ मिटर लामो बेलीब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले विक्रम संवत् २०७९ फागुनमा २ करोड ४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भए पनि १ महिनाअघि नै बेलीब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताए ।

‘५ महिनाको सम्झौताको म्याद थियो,’ उनले भने, ‘४ महिनामै पुल तयार भएर प्रयोगमा आइसकेको छ । प्राविधिक मूल्यांकन र नापजाँचको काम बाँकी छ । धेरै योजना ढिलासुस्तीले थलिएको अवस्थामा यो बेलीब्रिज लक्ष्यभन्दा १ महिनाअघि नै सम्पन्न भएको छ ।’

बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना पोखरेबगरस्थित कालीगण्डकीमा रहेको बेलीब्रिज बगरफाँट जोड्ने सडकमा स्थानान्तरण गरिएको हो । पोखरेबगरमा गत वर्ष पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन थियो । 

हिमालयन बिल्डर्सका सञ्चालक नीरज भण्डारीले काम गर्ने वातावरण, संवद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्यअघि नै पुल निर्माण गर्न सकेको बताए । ‘सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन गरेको थिएँ,’ उनले भने, ‘काम गर्ने वातावरण भएकाले पनि सजिलो भयो ।’

करीब ३०० घरधुरीको बसोबास रहेको बगरफाँटका वासिन्दा २ वर्षयता सडक यातायात सुविधाबाट वञ्चित भएका थिए । पर्वत बेनीबाट बगरफाँट जोड्ने सडक विक्रम संवत् २०७८ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि बगरफाँटवासी समस्यामा परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्