
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सांसदसमेत रहेका उनले बजेट असमान र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पारे ।
उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमागरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइए बताए ।
१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
‘हामीले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौं ।
यही अवस्था र यथास्थितिमा बजेट पास हुँदैन । हामी सत्ता पक्षकै भएर पनि यथास्थितिमा बजेट पास हुन दिँदैनौँ,' उनले भने, 'आजको स्थितिमा अन्यायपूर्ण गतिविधि हुन सक्दैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’