
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
शुक्रावार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीनवटै महासंघले कर लगाउने घोषणा तत्काल फिर्ता गर्न माग गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको निर्णय सुनचाँदी व्यवसायीको हीतविपरित भएको ठहर गरेको छ ।
सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्बन गरेकोप्रति महासंघले विरोध जनाएको छ ।
उनीहरूले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
बजेटले सुनचाँदीको आायतमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेकोप्रति महासंघले विरोध जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मणिकरत्न शाक्यले बजेटमा उल्टो किसिमको नीतिहरू आएको बताए ।