
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि शुक्रवार ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ ।
कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो ।
भारतबाट शुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि ३ वर्ष अगाडि शुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ ।
विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा भारतको हरियाणाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यसबाहेक सेल्फी विथ डटर अभियानका शुरूआतकर्ता सनिल जगलानको समेत उपस्थिति थियो ।
नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरूलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैंगिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे ।
सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिँदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए ।
कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा नेपाल इन्टरनेट फाउन्डेसनले लैंगिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तीकरणमा सधै जोड दिएको छ ।
नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ ।
छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जना गर्न सधैं तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।