
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले चार दिने नमुना संयुक्त राष्ट्रसङ्घको अभ्यास सञ्चालन गरेको छ। सो अभ्यासमा मुलुकभरबाट छनौट भएका २०० जना युवा सहभागी थिए।
नेपाली युवाहरूलाई सक्षम, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय कूटनीतिमा अभ्यस्त गराउने उद्देश्यले सरकारी तवरबाट पहिलो पटक यस खालको कार्यक्रम आयोजना गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन प्रतिकार्य, गरिबी निवारण , बेरोजगारी , भोकमरी , विश्व शान्ति आदि जस्ता साझा विषयहरूमा फरक फरक समितिहरूको फरक फरक बैठकमा व्यापक छलफल भएको बस्नेतले बताए। नमुना संयुक्त राष्ट्रसङ्घको नमुना महासचिवको भूमिका गुल्मीकी इसिका पन्तले निर्वाह गरेकी थिइन्।
सहभागी २ सय युवाले २ सय देशकै नमुना प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्बन्धित देशका समस्या र चुनौतीको समेत चिरफार गर्ने अभ्यास गरेका थिए। यस क्रममा अन्तर्राष्ट्रिय मञ्चहरूमा अपनाउनुपर्ने कूटनीतिक मर्यादा , भाषा, शैली , सहकार्य लगायतका विषयमा सहभागी युवाहरू प्रशिक्षित भएका थिए।
नमुना अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , संयुक्त राष्ट्रसंघकी नेपाल स्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्दी, विश्ववन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ् , कार्यक्रमको प्राविधिक साझेदार सेन्ट जेभियर्स कलेजका प्रमुख डा.अगस्टाइन थोमस एस.जे. लगायतको सहभागिता रहेको थियो।