
भक्तपुर, लमजुङ र तेह्रथुमबाट २२ जना जुवाडे पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका १ स्थित बसपार्कमा पार्किङ गरिराखेको बसमा तास खेल्ने ९ जना पक्राउ परेका छन् । बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९ जनालाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई ७२ हजार ५ सय ४५ रूपैयाँ नगद र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरास्थित ए वान होटलमा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय कुमार रानासहित ७ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई ७६ हजार ६ सय ३५ रूपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई २९ हजार २ सय १ रूपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।