चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक शहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । सांघाईबाट काठमाडौं र पोखरा सिधा उडान भयो भने त्यसले सांघाईको औद्योगिक, व्यापारिक र धार्मिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो ।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराएका थिए ।
चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा २ स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र २ देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।
भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन–नेपालमैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी थिए ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सांघाईमा साइयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामीण योजना प्रदर्शनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र लगायतका स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।
वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाई उडान शुरू गर्ने विषयले प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिना सहितको ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बिहीवार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।