
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले वीरगञ्जबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरबाट बुधवार दिउँसो २ वटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरिएको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह–प्रवक्ता शैलेन्द्र थापाले दिएका जानकारीअनुसार बिल नभएको लत्ताकपडा, स्मार्ट घडीलगायतका सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो ।
सामान ल्याउने व्यक्तिहरू भने प्रहरीलाई देखेपछि सामान छोडेर फरार भएका थिए ।
बरामद गरिएको मध्ये ५ लाख ७० हजारको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको एपीएफले जनाएको छ ।
बरामद भएको सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।