०१ असार २०८३, सोमबार

श्रीमतीको हत्यापछि बोरामा पोको पारेर फाल्ने श्रीमान् पक्राउ, वैशाखमा मात्रै भएको थियो बिहे

जेठ ३२, २०८०
तनहुँ
श्रीमतीको हत्यापछि बोरामा पोको पारेर फाल्ने श्रीमान् पक्राउ, वैशाखमा मात्रै भएको थियो बिहे

तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो ।
मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ । 

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए । 

निजहरूबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर गत वैशाख १ गते मात्र प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।

मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्