२८ जेठ २०८३, बिहीबार
राउण्ड अप

कार्ययोजनासहित प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा

जेठ ३२, २०८०
काठमाडौं
कार्ययोजनासहित प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पनि बहस जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा बिहीबार प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट थुनछेक बहस हुने भएको छ । 
प्रतिवादीको तर्फबाट बहस सकिएसँगै सरकारी वकिलहरुले जवाफी बहस सकेपछि आदेश आउनेछ । 
००००
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधवार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको कुरा उठाइएको भन्दै निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको मिति सभापति दिलकुमारी रावलले जानकारी दिइन् । 
००००
राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 
 
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी बुधवार बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
००००
कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । 
सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
००००
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
००००
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की बिहीबार संसदीय सुनुवाइ समितिमा प्रष्टिकरणका लागि उपस्थित भएका छन् । यसअघि समितिमा बुधबार उजुरीकर्ताहरुसँग छलफल भएको थियो ।
समितिमा बिहीबार कार्कीले संसदीय सुनुवाइ समितिको कार्याविधिको दफा १९ बमोजिम आफ्नो कार्यायोजना प्रस्तुत गर्ने तय भएको छ । उनले आफूमाथि उठेका प्रश्नबारे प्रष्टीकरण गरेपनि आजै प्रधानन्यायाधीशमा नाम अनुमोदन हुनेछ । समितिबाट अनुमोदन भएसँगै उनी छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् । उनको कार्यकाल साउन २० देखि सकिनेछ । 
००००
यस वर्षको मनसुन नेपाल भित्रिएको छ । बुधवार नेपालको कोशी प्रदेश, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
००००
नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।     
बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो ।
००००
नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
गृह मन्त्रालयको २०८० जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुशोभित गरेका हुन् ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
सभापति देउवा देशबाहिर प्रस्थान गरेकोले स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।
बुधवार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उत्खनन क्षेत्रमा पुगेका हुन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारी समेत लिएका छन् ।
००००
यसैबीच प्रचण्डले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् । 
कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन् ।
००००
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ‘वान एक्स बेट’मार्फत अनलाइन सट्टेबाजी गराउने गिरोहका ५ जना एजेन्टलाई पक्राउ गरेको छ । 
जेठ ३० गते उपत्यकाका मैजुबहाल, पेप्सीकोला, ठिमी र सानोर्भयाङबाट ५ जनालाई पक्राउ गरिएको प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
००००
आइतवारदेखि  निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । बुधबार नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्