
अग्रज लोकगायक प्रेमराजा महतले राजनीतिमा आउने संकेत गरेका छन् । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएका यी गायकले लोकान्तरसँगको कुराकानीमा राजनीतिमा आउने संकेत गरेका हुन् ।
‘मेरो पारिवारिक पृष्ठभूमि पनि पोलिटिकल हो । सोही कारण अहिले विशेषगरी जिल्लातिरका साथीभाइले एकचोटी तपाईं राजनीतिमा आउनुपर्यो भनेर भन्नुभएको छ’ उनले भने, ‘यद्यपि मैले केही सोचिसकेको चाहिँ छैन । यो साल यसबारे सोच्दैछु ।’
राजनीति पनि एक किसिमको समाजसेवा भएकाले राजनीतिमा आएर समाजसेवा गर्न अझ सहज हुने देखेर पनि यसबारे सोच आएको उनले बताए ।
प्रेमराजा विगतदेखि नै समाजसेवामा समेत सक्रिय छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग निकट देखिन्छन् । अन्य राजनीतिक दलका नेताहरूसँग पनि उनको निकटता देखिँदै आएको छ ।
यद्यपि, आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको उनले दाबी गरे । ‘कहिले कुन नेतासँग, कहिले कुन नेतासँग देखिँदा मानिसले अनेक अड्कलबाजी गर्ने गर्नुहुन्छ । मेरो सम्बन्ध सबै नेताहरूसँग राम्रो छ,’ उनले भने, ‘तर म कुनै पार्टीमा संलग्न नभएको कलाकारमध्येमा पर्छु ।’
‘पानको पात’, ‘बाँझो खेतमा’, ‘सिमसिमे पानीमा’, ‘हिउँचुलीमा हिउँ’ जस्ता रिल क्यासेट जमानाका कालजयी गीतका गायक प्रेमराजाले गतवर्ष सार्वजनिक गरेको ‘बन्दिपुरैमा’बोलको गीतलाई पनि स्रोता दर्शकले रुचाएका छन् ।
केही दिनअघि उनले ‘घर हम्रा जुम्ला हुम्लामा’बोलको गीत ल्याएका छन् ।
प्रेमराजाको नेपाल आउजाउ बाक्लै हुने गरेको छ । उनी विगत ८ महिनादेखि नेपालमै छन् ।