
मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्व–पश्चिम लोकमार्गबाट बिलबिजकमा उल्लेख भएभन्दा बढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रकमध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।