१४ असार २०८३, आइतबार

झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै

असार २, २०८०
बाग्लुङ
झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै
प्रतिकात्मक तस्वीर

स्थानीय तहले काम गर्नुपूर्व तत्कालीन निसीखोला गाउँपालिकामा ४ मात्रै स्वास्थ्य चौकी थिए । छरिएको बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौं लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए ।

जब स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेपछि निसीखोलाका वडावडामा स्वास्थ्य संस्था स्थापना भएर सञ्चालनमा आएका छन् । स्थानीयले सामान्य उपचार गाउँ नजिकैको स्वास्थ्य संस्थामा गराउन पाए पनि जटिल प्रकारको उपचार गराउन कि त बुर्तिबाङ पुग्नुपर्छ कि भने ठूला सहरका सुविधायुक्त अस्पतालमा पुग्नुको विकल्प छैन ।

१ दशक अगाडिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेका छन् । अहिले गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ । सोहीअनुसार अहिले गाउँपालिकाले पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गरिरहेको छ ।

गत वर्षदेखि वडा नम्बर ४ को झिम्पामा अस्पताल निर्माण भइरहेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुशी छाएको छ । लामो समयदेखि सामान्य रोगको उपचार गर्न घण्टौं टाढा पुग्दै आएका स्थानीयमा अब घरै अगाडि उपचार गराउन पाउनेमा आशावादी छन् ।

अस्पताल सञ्चालनमा आए यहाँबाट विशेषज्ञ सेवा प्रदान हुनेछ । अस्पताल गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका हजारौं नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुनेछ । यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएकोमा आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिन पाइने स्थानी प्रेमबहादुर मगरले बताए । अहिलेसम्म गाउँमा कोही बिरामी भए उपचारका लागि झिवाखोला पुग्नु परेको सुनाउँदै अस्पताल सञ्चालनपछि धेरैलाई सहज हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘यहाँ यति ठूलो अस्पताल बन्छ भन्ने लागेको थिएन, सरकारले गाउँका मान्छेको समस्या बुझेर यहाँ अस्पताल बनाउँदैछ, हामी धेरै खुशी भएका छौं, अब बिरामी भए पनि हजारौं पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दा बित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौं जाने गर्थे, उपचारका लागि धेरै खर्च हुन्थ्यो अब त्यो समस्या हट्ने छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्