
चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका तीन जना कर्मचारीबाट थप रकम बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार दिउँसो ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट स्रोत नखुलेको थप २ लाख २२ हजार २८० रुपैयाँसमेत बरामद भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार उनीहरूले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएका थिए ।