
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल रहेका छन् ।
उनीहरूलाई आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार निर्माण भइरहेको सडकको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।