
काठमाडौं, २५ भदौ — उत्तर कोरियाका तानाशाह किम जोङ–उनले अमेरिका तथा उसका सहयोगी देशबाट युद्ध हुन सक्ने सम्भावना देखेर सुरुङ बनाउने आदेश दिएका छन् ।

देशभरिमा करीब ८४ वटा विशाल सुरुङ बनाएर आणविक युद्धका बेलामा मानिसहरूलाई बचाउने उनको योजना छ ।
दक्षिण कोरियाली सञ्चारमाध्यममा आएको रिपोर्टअनुसार किमले आफू र आफूसँग नजिक रहेका मानिसहरूका लागि प्योङयाङमा गोप्य सुरुङ बनाएका छन् ।
त्यसो त उत्तरमा अहिले नै थुप्रै सुरुङ छन् । तिनीहरू युद्धका लागि नै बनाइएका हुन् । यी सुरुङबाट सेनाको गाडीहरू पनि गुड्न सक्छन् ।
हालै दक्षिण कोरियाको सेनाले चारवटा सुरुङ पत्ता लगाएको थियो जहाँबाट उत्तर कोरियाली सेना दक्षिणमा छिर्न सक्छन् ।
यी सुरुङहरू आधुनिक तरिकाले डिजाइन गरिएका छन् र यिनमा एक घन्टाभित्र ३० हजार सैनिक जवान एकैचोटि पस्न सक्छन् ।
यीमध्ये एक सुरुङ ८३ मिटर लामो छ जसमा पानीको पाइपलाइनको पनि व्यवस्था छ ।
सुरुङमा प्रकाशको पनि व्यवस्था छ र सैनिकहरू रातको समयमा पनि दक्षिण कोरिया पस्न सक्छन् ।
सुरुङहरूमा पानी, बिजुली र हतियार भण्डारणदेखि लिएर सैनिकहरू सुत्नेसम्मको व्यवस्था छ ।
दक्षिण कोरियाली सेनाका अधिकारीहरूका अनुसार उत्तरले उनीहरूको देशमा आक्रमणको तयारी गरिरहेको छ ।
त्यसैले गर्दा यी सुरुङहरूको निर्माण गरिएको उनीहरूको दाबी छ ।
एजेन्सी