२१ जेठ २०८३, बिहीबार
फाजिल कर्मचारीको भीड

सिंहदरबारमै कर्मचारी बेरोजगार, हाजिर मात्र गरेर तलब, 'टाइम पास' गर्नै धौ-धौ

असार ६, २०८०
काठमाडौं
सिंहदरबारमै कर्मचारी बेरोजगार, हाजिर मात्र गरेर तलब, 'टाइम पास' गर्नै धौ-धौ

निजामती सेवाअन्तर्गतका ५० जना कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगी हाजिरी मात्र गरेर जागिर पकाउने गरेका छन् ।

११ जना उपसचिव, ११ जना शाखा अधिकृत र २८ राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीहरू २ महिनादेखि बेकामे बनेका हुन् ।

हाजिर गर्ने मात्र उनीहरूको काम हो । मन्त्रालयले कुनै जिम्मेवारी नै नदिएका कारण ती कर्मचारी हाजिर गरेर घर फर्किने गरेका छन् ।

उपसचिवहरू गीता आचार्य, किसान न्यौपाने, नरेशकुमार यादव, सुदीपविक्रम भट्ट, राजेन्द्रप्रसाद कँडेल, मुकेश रेग्मी, मोहन घिमिरे,भागीरथा गैरे, नवराज ढकाल, दिनेश त्रिपाठी र पवनराज कोइराला अतिरिक्त कर्मचारी (फाजिल) हुन् ।

त्यसैगरी शाखा अधिकृतहरू सुवास रिजाल, अभिलाषा महर्जन, प्रकाश दुलाल, प्रभा पोखरेल, रामबहादुर यादव, तीर्थराज निरौला, उदयराज भट्टराई, निरञ्जन पाख्रिन, शालिग्राम देवकोटा, वीरबहादुर बस्नेत, सिन्धुकुमारी पाण्डे पनि मन्त्रालयको दरबन्दीभन्दा बाहिर रहेका अतिरिक्त कर्मचारी हुन् ।

नायब सुब्बा, खरदार र सहायक स्तर गरी २८ जना कर्मचारीहरू पनि दरबन्दीभन्दा बाहेकका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक प्रशासन फाँटका एक कर्मचारीका अनुसार विगत २ महिनादेखि ती कर्मचारीहरू हाजिर गरेर घर फर्किने गरेका छन् ।

'तीमध्ये केही लोक सेवा आयोगको परीक्षा पास गरी नयाँ पदस्थापन भएका कर्मचारी हुन्, केही बढुवा भएर आएका कर्मचारी पनि छन्,' ती कर्मचारीले लोकान्तरसँग थपे, 'केही कर्मचारीहरू आफू बिरामी भएकाले उपचार गर्नका लागि भन्दै हाजिर भएका छन् ।'

३ जना शाखा अधिकृत र ५ जना उपसचिव बिरामी भएर उपचार गर्नका लागि भन्दै हाजिर भएको उनले बताए । तीमध्ये एक जनाको 'ब्रेन ह्यामरेज' भएको तथा ७ जना क्यान्सरका बिरामी रहेको उनले खुलाए ।

केही भने निलम्बन फुकुवा भएर आएका कर्मचारी समेत रहेको उनले बताए ।

'केहीदिन अघिसम्म उक्त मन्त्रालयमा झन्डै १ सयजना जति अतिरिक्त कर्मचारीले हाजिर गर्थे,' उनले थपे, 'लामो समयदेखि हाजिरी गरी जागिर पकाउने ती कर्मचारीहरूलाई पछिल्लो समय विभिन्न स्थानीय तह तथा प्रदेशमा समेत सरुवा गरी पठाइएको छ ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराई भने लामो समयदेखि बिरामी रहेका १० जना जति कर्मचारीहरूको उपचारका लागि यहाँ अतिरिक्त समूह नै कायम गरिएको बताउँछन् । त्यसबाहेकका कर्मचारीहरूको व्यवस्थापन हुँदै आएको उनले बताए ।

'अतिरिक्त समूहमा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्दै आएका छौं । त्यो संख्या कहिले घट्ने, कहिले बढ्ने भइरहेको हुन्छ,' भट्टराईले लोकान्तरसँग भने ।

सिंहदरबारभित्र अन्य मन्त्रालयहरू समेतमा कतिजना जिम्मेवारीविहीन कर्मचारी छन् भन्ने अद्यावधिक तथ्यांक संघीय मामिला मन्त्रालयसँग नरहेको उनले बताए ।

'अन्य मन्त्रालयमा अतिरिक्त समूह छैन । हाम्रोमा मात्र अतिरिक्त समूह छ,' उनले थपे, 'अन्य मन्त्रालयमा कहिलेकाहीँ जिम्मेवारी नपाएका कर्मचारीहरू हुन्छन्, तर तिनलाई सम्बन्धित मन्त्रालयले आन्तरिक व्यवस्थापन गर्ने गर्छन् ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र नभएर अन्य मन्त्रालयहरूमा पनि त्यही समस्या छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लोकसेवा पास गरी पदस्थापन गरिएका ६ जना उपसचिवहरू १३ दिनदेखि कामविहीन छन् ।

उपसचिवहरू अमितकुमार शर्मा, क्षितिज जोशी, शुभाञ्जन दाहाल, तेजस्वी शर्मा, ज्ञानेन्द्रप्रसाद कलौनी र आशिका पोखरेललाई विगत १० दिनदेखि कुनै जिम्मेवारी प्रदान गरिएको छैन ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव रघुराम विष्ट भने मन्त्रालयका सचिव बाहिर रहेका कारण जिम्मेवारी दिन नसकिएको बताउँछन् ।

'सचिवज्यू, बाहिर हुनुहुन्छ । उहाँ आउनेबितिकै नयाँ पदस्थापन भएका ६ जना उपसचिवहरूले जिम्मेवारी पाउनुहुन्छ,' उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयजस्तै अन्य मन्त्रालयहरूमा पनि दर्जनौंको संख्यामा कर्मचारीहरू जिम्मेवारीविहीन छन् । उनीहरूले हाजिरी गरेर मात्र तलब पकाउने गरेका छन् । बाहिर सरुवा गर्दा समेत रमाना लिएर नजाने, सिंहदरबार वरपर बसेर नै गफ गर्ने गरेका हुन्छन् ।

पूर्व सचिव गोपीनाथ मैनाली उक्त प्रवृतिलाई प्रशासनिक तदर्थवादको संज्ञा दिन्छन् । 'यो त प्रशासनिक तदर्थवादजस्तै भयो,' मैनालीले लोकान्तरसँग भने,'कर्मचारीलाई लामो समयसम्म जिम्मेवारीविहीन बनाएर राख्न नै हुँदैन ।'

लोकसेवा आयोगबाट नियुक्त भएर पदस्थापन हुँदा तालिमका लागि र एकदमै छोटो अवधिका लागि विशेष परिस्थितिमा मात्र अतिरिक्त समूहमा राख्नुपर्ने उनको कथन छ ।

'विनाकारण ठूलो संख्यामा अतिरिक्त समूहमा कर्मचारीलाई राख्नु कर्मचारी व्यवस्थापनको दृष्टिकोणमा राम्रो हुनै सक्दैन,' मैनालीले थपे, 'लामो समय जिम्मेवारीविहीन हुँदा विस्तारै कर्मचारीको मनोबल समेत गिर्न जान्छ ।'

salt training

कमेन्ट गर्नुहोस्