२८ जेठ २०८३, बिहीबार

नरैनापुर गाउँपालिकामा गाउँ सभाको तयारी पूरा

असार ७, २०८०
बाँके
नरैनापुर गाउँपालिकामा गाउँ सभाको तयारी पूरा

बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ ।

गाउँ सभामा पेश हुने वार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको वार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए ।

नरैनापुर गाउँपालिकाले असार १० गतेभित्र शुरू गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनको काम पूरा गरेको जनाएको छ । 

बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले बस्ती स्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरू व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौं, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो,’ उनी भन्छन्, ‘यसपटक फेरि पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’

बुधवार बसेको बैठकले उपाध्यक्ष जयन्तीदेवी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नम्बर १ का अध्यक्ष इसाक जोलाह र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, ‘कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाउँ सभाबाट पारित गरिने छ ।’

वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई संशोधन गर्ने र नीति, कार्यक्रम र बजेटका विषयमा आजको बैठकमा छलफल भएको बताउँदै असार १० गते हुने गाउँसभा विवादरहित तरिकाले सम्पन्न हुने बताए ।

वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन्,’ उनी भन्छन्, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरको दीगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौं ।’

बैठकमा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नम्बर १ का अध्यक्ष इसाक जोहल, वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरूको सहभागिता थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्